एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधि अनियमित कार्यमा संलग्न

२० साउन ०७४, जाजरकोट । कामै नभएको कामको पनि काम भएको भनी रकम भुक्तानीका लागि सिफारिस गर्ने त्रिवेणी नलगाड नगरपालिका वडा नं ११ का वडा अध्यक्षसहित चार जना वडा सदस्य फन्दामा परेका छन् ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जितबहादुर मल्ल र सदस्यहरु भिमबहादुर मल्ल, कृष्णकुमारी खत्री वानियाँ, विष्णुकमारी नेपाली र विर्खबहादुर बानियाँले वडा कार्यालयको लेटर प्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार तीन सय मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानिय विकास अधिकारीलाई सिफारिस गरेपछि फन्दामा परेका हुन् ।

एक राष्ट्रिय दैनिकमा कागजमै सिमित योजना, कामै नगरी भुक्तानी भएको २३ लाखको चेक भेटियो शीर्षकको समाचार ३ साउनमा प्रकाशित भएपछि छानबिन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधि समेत अनियमित कार्यमा संलग्न भएको पाइएको हो ।

उनीहरु सवैलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ता भित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको सामाजिक विकास अधिकृत दलबहादुर घर्तीले बताए ।

जाजरकोटका त्रिवेणी नलगाड नगरपालिका वडा नं ११ चौखादेखि वडा नं १० रजिक सम्म जोड्ने चौखा-रजिक बानियाँगाँउ सर्मी डोल्पा सडकको कामै नगरी २३ लाख रुपैया जिल्ला समन्वय समितिले भुक्तानी गरेको थियो ।

अख्तियारले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभएपनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टीकरण सोधेपछि छानबिन थाल्दा यस्तो तथ्य फेला परेको हो ।

नक्कली विल भरपाई पेश गर्ने प्राविधिक वर्खास्त, निर्देशन दिने जिल्ला इन्जिनियर भने मुक्त !

घर्तीले कामै नभए पनि नक्कली विल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई जागिरबाटै वर्खास्त गरिएको बताए ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव शुष्मा विसी र कोषाध्यक्ष जय कुमारी खत्रीलाई पनि स्पष्टीकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नवित्दै वडाका सवै पदाधिकारी स्पष्टीकरणमा परेका छन् ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिए सँगै अनियमितता घटने सुशासन कायम हुने अपेक्षा गरिएको थियो तर यो पछिल्लो घटनाले जनप्रनिधिको चरित्र र हैसियत उदाङ्गिएको सुशासनकर्मी बालकुमार शर्माले बताए ।

उपभोक्तासँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर सुर्यबहादुर शाहीको निर्देशनमा सवईन्जिनियर विश्वकर्माले उक्त सडकको मुल्यांकन गरी नक्कली विलभरपाई बनाएको खुल्न आएको छ ।

घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिईसकेको चेक समेत कार्यालयले थुतेर क्यान्सिल गरेको छ । तर, अनियमित कार्यमा संलग्न अन्यलाई कारवाहीको प्रक्रिया अघि बढाएपनि जिल्ला इन्जिनियर शाहीलाई कुनै कारवाही गरिएको छैन ।

तपाइको मत