२७ चैत,काठमाडौं । एमालेभित्र गुटको विवाद बढ्दै जाँदा विवाद बाहिर पोखिन पुगेको छ ।
माधव नेपाल पक्षले स्थानीय तहको चुनावको मुखमा काठमाडौं आइतबार समानान्तर भेलाको आयोजना गरेको छ ।
संस्थापन पक्षले प्रदेश कमिटीको निर्णय समेत नमानेपछि समानान्तर कमिटी गठन गर्न आयोजित भेला शीर्ष नेतृत्वको आग्रहपछि चुनावी भेलामा परिणत भएको स्रोतले जनाएको छ ।
नयाँबजारस्थित नेपा बैंक्वेटमा करीव ५ सय अगुवा कार्यकर्ताको सहभागितामा भएको समानान्तर भेलामा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र पार्टी सचिव योगेश भट्टराई लगायतले सम्बोधन गरेका थिए ।
काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले अध्यक्षता गरेको भेलामा बरिष्ठ नेता खनाल र नेपालले माथिल्लो कमिटीको निर्णयलाई समेत चुनौति दिनेहरुमाथि कारवाही हुने बताए ।
उनीहरुले बिधिसम्मत पार्टी सन्चालन गर्नुपर्ने भन्दै समानान्तर भेला आयोजना गर्नुपर्ने परिस्थिति किन निम्तियो भन्ने समीक्षा हुने बताए ।
नेताहरुले चाँडै पार्टीको स्थायी कमिटीले यो विषय हल गर्ने भन्दै बिधिको लडाईमा आफूहरुले साथ दिने बताए ।