७ भदौ ०७४, काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन नजिकँदै जाँदा नेकपा एमालेले पार्टीको सम्पूर्ण शक्ति सो प्रदेशमा परिचालन गर्ने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको हो ।
पार्टी सचिव प्रदीप ज्ञवालीकाअनुसार आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय समेत गरिएको छ ।
राजपा लोकतन्त्र सुदृढिकरणका लागि निर्वाचनमा सहभागी हुनुपर्ने
राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी हुन आह्वान गर्दै एमालेले लोकतन्त्रको सुदृढिकरणका लागि पनि राजपा नेपाल निर्वाचनमा सहभागी हुनुपर्ने बताएको छ ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आगामी आइतबारसम्म दल दर्ता गरिसक्न आह्वान गरेकाले एमालेले आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।