९ भदौ ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारले केही माग सम्बोधन गरेको र राजनीतिक परिस्थिति पनि फेरिएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको बताएका हुन् ।
निर्वाचन आयोगले राजपामा आवद्ध दलहरुमध्ये कुनै एक पार्टीको चुनाव चिन्ह प्रदान गर्न सकिने बताएअनुसार राजपाले रामसपाको साइकल चुनाव चिह्न रोज्ने निर्णय गरेको छ ।
संशोधन विधेयक षड्यन्त्रपूवर्क असफल बनाएको ठहर
राजपा बैठकले संशोधन विधेयकलाई षड्यन्त्रपूवर्क असफल बनाएको ठहर समेत गरेको छ । संविधान संशोधन विधेयक असफल भएपछि भावी रणनीति तय गर्न राजपाले बैठक बोलाएको थियो ।
राजपाले भनेको छ, ‘एमालेले संविधान संशोधन विपक्षमा रही आफ्नो नस्लीय चरित्र, अहंकारवादी सोच, राष्ट्रिय एकता तथा मधेस विरोधी चरित्रलाई अझ पुष्टि गरेको छ ।’
राजपा बैठकले संशोधन विधेयक फेल भएपनि आफूले उठाएको अधिकार र पहिचानको मुद्दाहरु संसदमा स्थापित भएको बताउँदै संशोधन असफल भएको विरोधमा ९ देखि २१ गतेसम्म हातमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
उम्मेदवार छनोट प्रक्रियामा गयो राजपा नेपाल
राष्ट्रिय जनता पार्टी, नेपाल दुई नम्बर प्रदेशमा असोज २ मा हुने स्थानीय चुनावका लागि उम्मेदवार छनोट प्रक्रियामा गएको छ ।
दुई नम्बर प्रदेशको ८ जिल्लामा नेताहरुलाई केन्द्रीय पर्यवेक्षकको रुपमा पठाउने निर्णय गरेको छ ।
राजपाले आज भदौ ९ गते सबै जिल्लामा बैठक गर्ने र स्थानीय तहहरुमा पर्यवेक्षक पठाउने निर्णय गरेको छ । भदौ १० गते इच्छुक उम्मेदवारको नाम संकलन, ११ गते सहमतिको प्रयास गरिने बताएको छ ।
यदि सहमति नभए उसले १२ गते जिल्लास्तरमा उम्मेदवारको नाम टुंगो लगाउने प्रयास गर्ने र सहमति नभए १३ गते अध्यक्ष मण्डललाई नाम पठाइने निर्णय गरेको छ ।