एमालेविरुद्ध एजेन्सी प्रयोग हुँदा खुसी हुनेहरु भोलि त्यसैको शिकार हुन्छन् – केपी शर्मा ओली

२९ असार ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी एजेन्सीले एमालेविरुद्ध पैसा बाँडिरहेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका अध्यक्ष ओलीले भारततर्फ संकेत गर्दै बुधबार साँझमात्रै पनि एजेन्सीले एमालेविरुद्ध अन्य दलका नेताको बैठक राखेको दाबी गरे ।

उनले आज एमालेविरुद्ध विदेशी एजेन्सी प्रयोग हुँदा खुसी हुनेहरु भोलि त्यसैको शिकार हुने बताए ।

ओलीले प्रश्न गरेका छन्,  ‘कुनै देशको एजेन्सीले पैसा बाँड्दै फलोना पार्टी छाड, आन्दोलनमा जाऊ भन्न मिल्छ ? हिजोमात्रै पनि त्यो एजेन्सीले त्यस्तै-त्यस्तै मान्छेहरु राखेर बैठक गरेको सूचना पाएका छौं । त्यो बैठकले त्यस्तै-त्यस्तै गर्ने निर्णय गरेर उठेका छन् । आज एमालेविरुद्ध प्रयोग भयो । तर, यस्तो कुरा जायज हुन्छ ?’

एमाले अध्यक्ष ओलीले संविधान संशोधनलाई सत्तापक्षले एमालेविरुद्ध प्रहार गर्ने हतियारमात्र बनाएको तर मधेसको समस्या समाधान गर्न नचाहेको आरोप लगाए । उनले संविधान संशोधनलाई सहमतिबाट टुंगो लगाउँ भन्दा सरकारले प्रस्ताव नै बोकेर हिँडेको आरोप समेत लगाए ।

तपाइको मत