२३ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माअाेवादी एकताबारे भ्रम र आशंका फिजाइए पनि एकता प्रक्रिया निकै अगाडि बढिसकेकाे बताएका छन् ।
अाइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगकाे भेटवार्तापछि अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘पार्टी एकता इतिहासको अावश्यकता भएकाले यस विषयमा हामी निकै अगाडि पुगेका छौं ।’ प्रचण्डले भने, ‘एकताबारे भ्रम र आशंका फिजाँइए पनि अब एकताको प्रक्रिया राेकिदैन ।’
प्रचण्डले साेमबार दुबै पार्टीको बैठक बसेर सैद्धान्तिक र संगठनात्मक पक्षहरुमा छलफल गर्ने साथै मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको बताए ।
उनले बैठकमा पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल भएको बताए ।
‘हामीले राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकार गठनबारे कुरा गर्यौं’ प्रचण्डले भने, ‘मुख्यतः पार्टी एकताका बारेमा नै छलफल केन्द्रीत भयो ।’
लामो समयसम्म शीर्ष दुई नेताबीच छलफल हुन नसक्दा अब के हुन्छ भन्ने जनचासो बढिरहेको बेला माओवादी केेेन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट फर्किए लगतै अाइतबार साँझ ओली निवास बालकोट पुगेका थिए ।













