२७ मंसिर ०७४, नेपालगञ्ज । एमाले नेता शंकर पोखे्रलले एमाले-माओवादी केन्द्रबीच तत्काल पार्टी एकता नहुने संकेत गरेका छन् ।
नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता पोखे्रलले पहिला जनादेशको सम्मान अनि मात्र पार्टी एकता हुने बताएसँगै दुई पार्टी बीच तत्काल पार्टी एकता नहुने भएको हो ।
पहिला जनादेशको सम्मान हुनुपर्ने भन्दै उनले केन्द्रीय र प्रादेशिक सरकार गठन भएपछि मात्र एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।
‘छिटो भन्दा छिटो केन्द्रीय सरकारको गठन, प्रदेश सरकारको गठन गर्छौं ‘ पोखरलले भने, ‘अनि मात्र पार्टी एकीकरण हुन्छ ।’
उनले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको संघारमा चुनावी तालमेल र पार्टी एकता संयोजन समिति गठन गरेर एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने बताए ।
पोखरेलले एक महिनाभित्र केन्द्रीय सरकार गठन हुने र केन्द्रीय सरकार गठनपछि प्रदेश सरकारका लागि पहल हुने बताए ।
जनादेशलाई उपेक्षा नगर्न पोखरेलको चेतावनी !
एमाले नेता पोखरेलले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने खालका राजनीतिक नियुक्ति नगर्न चेतावनी समेत दिएको छ ।
उनले जनताबाट अस्वीकृत भएको बर्तमान सरकारलाई दीर्घकालिन असर पर्ने राजनीतिक नियुक्ति गर्ने नैतिक अधिकार नभएको बताए ।
‘ताजा जनादेशलाई उपेक्षा नगर्न चेतावनी दिन चाहन्छु’ भन्दै नेता पोखरेलले राजनीतिक नियुक्ति सरकारले तत्काल नरोके नयाँ जनादेशका साथ निर्वाचित सरकारले सबै खारेज गरेर अघि बढ्ने बताए ।
काँग्रेस नेतृत्वलाई संकेत गर्दै उनले कम्युनिष्टले जितेमा अधिनायकवाद लाद्छ भनेर हल्ला गर्नेहरु किनारा लागेको बताए ।
नेता पोखरेलले भने, ‘जनताले कम्युनिष्टहरु नै सच्चा लोकतन्त्रवादी हुन भनेर जनादेश दिएकोले अनावश्यक हल्ला गर्नेहरु किनारा लागेका छन् ।’













