एमाले-माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता गर्ने तयारी

१३ माघ ०७४, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले र माओवादी केन्द्र बीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।

शनिबार गोरखा आएका नेता श्रेष्ठले एमाले पार्टी कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा सरकार गठन गरेर फागुनमा पार्टी एकता गर्ने तयारी भएको बताएका हुन् ।

‘पार्टी एकीकरण हुन्छ, यसमा ढुक्क हुनुहोस्’, नेता श्रेष्ठले भने, ‘तर, वाम गठबन्धनको सरकार बन्न नदिन र एकता भाँड्न देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिरहेका छन् ।’

‘सरकार गठन हुनु अगाडि नै पार्टी एकताको घोषणा गर्छौं तर कथंकदाचित सकिएन भने सरकार गठन हुनुअघि नै वैचारिक, राजनीतिक, संगठनात्मक नीतिको आधारमा पार्टी एकता हुने निश्चित भयो भनेर प्रारुप तयार पार्छौं’ नेता श्रेष्ठले भने ।

उनले एमाले-माओवादी केन्द्र बीचमा वैचारिक र राजनीतिक मतभेद रहेको खुलासा पनि गरे ।

‘यो कुरा लुकाएर लुक्ने होइन । के कुरा सत्य हो भने एमाले र माओवादी बीचमा अहिले वैचारिक र राजनीतिक मतभेदहरु छन्’, नेता श्रेष्ठले भने, ‘मतभेद भएका कुरालाई अन्तरिम समयका लागि थाती राख्दै, मध्यमार्गी बाटो अपनाउँदै महाधिवेशनमा गएर समाधान गर्ने गरी अघि बढ्नु पर्छ ।’

तपाइको मत