१० चैत, काठमाडौं । प्रचण्ड सरकार बनेपछि एमाले र मधेसी मोर्चासहित प्रमुख दलहरुको बैठक बसेको छ । तर, चीन जानु अगाडि नै सहमति जुटाउने प्रधानमन्त्री प्रचण्डको योजना भने सफल हुन सकेन ।
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जानु अघि बिहीबार प्रमुख दलहरुको बैठक बोलाएका थिए, जसमा सत्ता पक्षबाट कांग्रेस, माओवादी र राप्रपाकोबाट शीर्ष नेताहरुका साथै एमाले र मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।
बैठकमा प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओली सहभागी छैनन् । शीर्ष नेताहरुको बैठक अघि प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरूसँग सभामुखको कार्यकक्षमा गरेको छलफलमा भने ओली आफै सहभागी भएका थिए ।
तर, बालुवाटारमा भएको छलफलमा भने एमालेबाट उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।
एमाले र मधेसी मोर्चाका नेताहरुसहित प्रमुख दलहरुको बैठक बसेको यो झण्डै एक वर्षमा पहिलो पटक हो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा उनी भारत जानु अघि कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाको बैठक बसेको थियो ।
त्यसपछि शीर्ष स्तरमा यस्तो छलफल नै भएको थिएन । साउनमा प्रचण्ड सरकार बनेपछि पनि यसरी प्रमुख शक्तिहरु एकै ठाउँमा बस्न सकेका थिएनन् ।
सहमतिको प्रयास असफल
बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमांकन हेरफेर बाहेकका अन्य विषयमा सहमति जुटाउन प्रस्ताव राखे । सीमांकनका विषयमा सुझाव दिन तत्काल अयोग बनाउने र प्रदेश तथा केन्द्रको निर्वाचन गर्नु अघि यसबारे निर्णय लिने उनको प्रस्ताव छ ।
तर, एमाले नेताद्वय गौतम र नेम्वाङले केके विषयमा सहमति गर्ने थाहा नै नभएको बताए । सत्तारुढ दलहरुले ठोस प्रस्ताव अघि सारेपछि पार्टीमा छलफल गर्ने दुबै नेताले बताए । यद्यपि सीमांकन थाति राखेर अरू संशोधन अघि बढाउन एमाले सकारात्मक देखिएको छ ।
मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवले पनि सहमतिको प्रस्ताव आएपछि थप छलफल गर्न सकिने बताएका छन् । पछिल्लो चरणमा भएका छलफलहरूमा मधेसी मोर्चाले सीमांकनलाई थाती राख्ने हो भने संविधानको धारा २७४ लाई संशोधन गर्नु पर्ने माग राखेको छ ।
यसमा प्रधानमन्त्री सहमत देखिएका छन् । तर, एमालेले यसबारे ठोस धारणा ल्याएको छैन ।