
२१ असोज ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी एकताले अधिनायकवाद जन्मने भ्रम नपाल्न आग्रह गरेका छन् ।
शनिबार राजधानीमा आयोजित माओवादीको केन्द्रीय राजनीतिक प्रशिक्षण कार्याक्रममा बोल्दै प्रचण्डले पार्टी एकताले अधिनायकवाद नजन्मने भन्दै भ्रम नपाल्न आग्रह गरेका हुन् ।
‘हाम्रा आ-आˆनै मान्यता र दृष्टिकोण छन्, त्यसमा अडिएर एकता हुँदैन’ उनले भने,’ हाम्रै प्रस्तावमा एकता प्रक्रिया आरम्भ भएको हो । यो फस्ने, फसाउने विषय होइन, हामी इमान्दार भएर अन्तिमसम्म एकताकै प्रक्रियामा जान्छौं ।’
वैचारिक, राजनीतिक मुद्धा र कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी बनाउने उनले बताए ।
प्रचण्डले एमाले र माओवादीको चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध नभएको बताए । उनले भने, ‘हाम्रो एकताले देशमा तत्कालै साम्यवादी शासन आउने होइन, अधिनायकवाद जन्मने पनि होइन । यसबारे कसैले भ्रम पाल्न जरुरी छैन ।’













