एमाले शीर्षस्थ नेताको टोलीले प्रधानमन्त्रीलाई बुझाए ६ बुँदे ध्यानाकर्षण पत्र

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षस्थ नेताको टोलीले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाएको ध्यानाकर्षण पत्रमा पूर्वप्रधानमन्त्री ओलीको भारत भ्रमणले नै दुई देशको सम्वन्ध सामान्य अवस्थामा फर्किएको दाबी गर्दै नेपाल र भारतबीच भएको सात बुँदे सम्झौतालाई नेपालको हित अनुकूल अघि बढाउन माग गरेका छन् ।

एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा एमाले नेतृत्वको सरकारको पालामा चीनसँग पारवहनसहितका ऐतिहासिक सम्झौता भएको भन्दै त्यसलाई अघि बढाउन माग गरेका छन् । साथै नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच आउने काम नगर्न सचेत गराएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा १९५० को सन्धी र त्यसयता भएका पत्रहरुको पुनरावलोकन र अध्यावधिक गर्नेबारे प्रष्ट धारणा राख्न माग गरेका छन् । कानुनी सहायता तथा सुपर्दगी सन्धीमा नेपालका अदालतमा विदेशी कानुन व्यवसायीले बहस पैरवी गर्न पाउने तथा तेस्रो मुलुकका नागरिकलाई सुपुर्दगी गर्ने प्रावधान हटाउने अडान कायमै राख्न एमालेले माग गरेको छ ।

महाकाली नदीको एकीकृत विकाससम्वन्धी सन्धी अन्तर्गत विकास परियोजना प्रतिवेदन निर्माण गर्दा महाकाली पानीको आधामा नेपालको हक रहने, लाभको हिस्सा अनुकुल लगानी, विद्युत उत्पादनको परिमाण घटाउन नहुनेबारे छलफल गरेर मात्र निर्णय गर्न एमालेले माग गरेको छ ।

काठमाडौं-निजगढ फास्टट्र्याक नेपाल आफैंले निर्माण गर्नुपर्ने, हुलाकी राजमार्गबारे भारतको सहयोग प्रष्ट पार्नुपर्ने र भविश्यमा अनिश्चित हुने कुनै काम गर्न नपाउने, सीमा क्षेत्रमा बनेका संरचना र दशगजाको अतिक्रमण हटाउनु पर्ने एमालेको माग छ ।

एमालेले इन्धन आपूर्तिमा भारतमा मात्र निर्भर हुने सर्त मानेर पाइप लाइन विछ्याउने नहुने भन्दै नेपालले अन्य देशबाट इन्धन आयात गर्न सक्ने प्रावधान खुला राख्न माग गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले एमालेको पत्र बुझ्दै भारत भ्रमणको सन्दर्भमा दिइएको पत्रलाई सहयोगका रुपमा बुझेको र यसले आफूलाई सहयोग नै पुग्ने बताएका छन् ।

तपाइको मत