एसएसबीको गोलीबाट मारिएका गौतमको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

२८ फागुन, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

स्व. गोविन्द गौतम

स्व. गोविन्द गौतम

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालकाअनुसार सरकारबाट सहिद घोषित गौतमको अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने छ भने उनलाई ११ तोपको सलामी दिइने भएको छ ।

गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमको परिवारलाई शुक्रबार सहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आइतबार बिहान साढे ८ बजे उनको शवयात्रा निकालिने छ ।

शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर आज पनि दिनभर तनावग्रस्त

उता कञ्चनपुरको आनन्दबजार आज पनि दिनभर तनावग्रस्त रह्यो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्दबजार क्षेत्रलाई विहान ९ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि स्थानियहरु प्रदर्शनमा उत्रिएका थिए ।

स्थानियहरुले निषेधित क्षेत्र तोड्ने प्रयाससमेत गरेका थिए । उनीहरुलाई रोक्न ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । बेला-बेलामा स्थानिय र प्रहरीहरुबीच दोहरो झडपसमेत भयो । प्रहरीले पटक-पटक भिड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेका छन् ।

तपाइको मत