एसएसवीले गोली हानी हत्या गरेका साहको परिवारलाई १० लाख राहत उपलब्ध

१४ चैत, बिराटनगर । ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसवीले गोली हानी हत्या गरेका मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई सरकारले आज १० लाख राहत उपलब्ध गराएको छ ।

वासुदेवका परिवारलाई गृहमन्त्री विमेलेन्द्र निधिले १० लाखको चेक हस्तान्तरण गरेका हुन् । सरकारले हिजोमात्रै वासुदेवका परिवारलाई राहातस्वरुप १० लाख रुपैया दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधिले वासुदेवकी धर्मपत्नी उर्मिलादेवीलाई सरकारको तर्फवाट चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा वासुदेवका पत्नी उर्मिलादेवी छोराहरु गौतम, जयकान्त र छोरी लक्ष्मी उपस्थित थिए । गृहमन्त्रीले निधिले वासुदेवको हत्या भएपछि स्थानीय प्रशासनले राहतका लागि सिफारिस गरेपनि विविध कारणले निर्णय हुन नसकेको र आफ्नो पहलमा राहत दिएको बताए ।

उनले वासुदेवको परिवारलाई राज्यवाट दिने सेवा सुविधा प्रदान गर्ने क्रममा छोराहरुलाई तत्काल म्यादी प्रहरीमा जागिर दिन पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

२०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट वासुदेवको मृत्यु भएका थियो । एसएसवीको गोलीवाट वासुदेवको मृत्यु भएपछि उनको परिवारलाई तत्कालीन जिल्ला सुरक्षा समितिले शहीद घोषणा गर्दै क्षतिपूर्ति प्रदान गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

वासुदेवको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएपनि साहलाई शहीद घोषणा गर्नेबारे सरकारले अहिलेसम्म निर्णय गरेको छैन ।

को हुन वासुदेव ?

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसवी)बाट ६ वर्षअघि हत्या गरिएका मोरङको अमाहिवरियाती स्थायीवासिन्दा हुन् बासुदेव । २०६७ साल जेठ ११ गते राति नेपाल छिरेका एसएसवीको गोली प्रहारवाट ५५ वर्षीय साह मारिएका थिए ।

खानेतेल तस्करीका विषयमा राति नेपाल छिरेर एसएसवीले धरपकड गर्ने क्रममा स्थानीयबासी र प्रहरी चौकीसँग विवाद चर्कीएपछि एसएसवीले प्रहरी चौकी अमाहीवरियातीका हवल्दार शम्भु चौधरीलाई गोली प्रहार गर्न खोजेको थियो ।

हवल्दार चौधरीलाई जोगाउन खोज्दा साह मारिएका थिए । उनको हत्या भएपछि स्थानीय प्रशासनले मृतकका छोरा-छोरीलाई शिक्षा-दीक्षाको व्यवस्था, शहीद घोषणालगायतका लागि सरकारसँग पहल गर्ने सहमति पनि भएको थियो ।

तपाइको मत