२२ फागुन ०७४, काठमाडौं । नेपाली दूतावासले ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काएको छ ।
अनेस्टि ओभरसिज प्रा.लि.बाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।
करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर उनीहरुले दूतावाससँग नेपाल फर्काइदिन आग्रह गरेका थिए । उनीहरु काम गर्ने भनिएको कम्पनीबाट करिब १६५ किलोमिटर टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा रहेको थाहा पाएपछि दूतावासले उद्धार गरेको हो ।
फिर्ता हुनेहरुमा रविन्द्रकुमार चौधरी, वसन्त गिरी, रेशम कुँवर, शेरबहादुर खत्री, कुमार चौहान, रत्नजंग राई, खीमबहादुर थापा मगर, गोकर्ण त्रिपाठी, राम ललित कुमार यादव, थके बुढा र यमबहादुर चौहान रहेका छन् ।
समस्यामा परेका बाँकी ९ जना कामदारहरुको समस्या समाधान एवंम स्वदेश फिर्ताका लागि पनि दूतावासले प्रयास जारी राखेको जनाएको छ । पीडित नेपाली कामदारहरुलाई ओमनस्थित नेपाली समुदायले खान र बस्नको व्यवस्था गरेका थिए ।
साथै सम्बन्धित कम्पनीहरूलार्इ समेत कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।