१७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा देश बिगार्ने बाटोतर्फ उद्धत रहेको आरोप लगाउँदै मोर्चाविरुद्व खनिएका छन् ।
एमालेका अध्यक्ष ओलीले सोमबार राजधानीको टेकु चपलीमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने जिकिर समेत गरेका छन् ।
‘देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्छन्’, मधेसी मोर्चातर्फ इंगित गर्दै ओलीले भने, ‘संविधान संशोधन बेमौसमी बाजा हो । एमालेले लोकतन्त्रकको खिल्ली उठाएको होइन । यो देश भोट हालेर बनेको देश होइन । भोट कहाँ हाल्नुपर्छ ? एमालेलाई राम्ररी थाहा छ । भोट हालेर कयौं देश विघटन भएका छन् ।’
ओलीले कुर्सीका लागि आफ्नो पार्टीले राष्ट्रियताको कुरा नउठाएको बताउँदै अंग्रेजसँगको युद्धका क्रममा बलभद्र कुँवरले नालापानीको किल्ला छाडेजस्तै आफूले पनि गत साउनमा सरकारको किल्ला छाडेको तर संघर्ष भने कायमै रहेको बताए ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नामै नलिइकन ओलीले भने, ‘साउनमा नेपालको किल्ला छाडेको छु । यिनीहरुले के गर्छन् भनेर मात्रै मैले किल्ला छाडिदिएको हो ।’