ओलीलाई जिम्मेवारीबाट मुक्त गर्ने नेकपाको निर्णय, नयाँ अध्यक्षमा नेपाल चयन

७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्यको उपस्थितिमा बसेको केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेर पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको भन्दै बैठकले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकले ओलीलाई कारवाही गरेसँगै रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै आजको बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गरेको छ ।

बैठकमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयप्रति केन्द्रीय कमिटी सदस्य प्रभू साहले दुई जना अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एकल अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताएका थिए ।

नेकपा केन्द्रीय समितिको आज बसेको बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ३१५ सदस्यको सहभागिता रहेको थियो । अर्को बैठक बिहीबार साढे ११ बजे बस्ने बताइएको छ ।