४ चैत ०७७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्।
बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिएर भेलामा आउन आग्रह गरेकी हुन् । उनले भनिन्, ‘कमरेड केपी ओलीजी त्यो २८ गतेको गुटको भेलाबाट गरेको निर्णयलाई फिर्ता लिनुस्। अहिलेपनि समय छ, कमरेड तपाई यो भेलामा आइदिनुस् ।’
फागुन २८ गते ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको भेला गरी एमालेको विधान संशोधन, पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर लगायतको निर्णय गरेका थिए ।
आफूहरुले नेकपा एमालेलाई बलियो र सुदृढ बनाउन चाहेको नेतृ शाक्यले बताइन् । आफूहरुको भेलामा उपस्थिति हुनेलाई ओली पक्षले कारबाही गर्ने धम्की दिएको भन्दै उनले यो एमालेको आधिकारिक भेला भएको दावी गरिन् ।