ओलीले अघि सारे एमालेकै प्रतिपक्ष समूहलाई एकताकाे ६ बुँदे प्रस्ताव

२३ जेठ ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीकाे प्रतिपक्ष समूहलाई एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल-खनाल समूहलाई पार्टी सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

आइतबार नेकपा एमाले एकताको लागि आह्वान गरिएको पत्र जारी गर्दै अध्यक्ष ओलीले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको बताएका छन् । तर, उनले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने आह्वान पत्रमा उल्लेख गरेका छन् ।

“नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन्” आह्वान प्रस्तावमा भनिएको छ, “मातहतका पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।”

“आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ” आह्वान पत्रकाे प्रस्ताव ४ मा उल्लेख छ ।