६ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘कू’ पात्रका रुपमा चित्रित गरेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर ओलीले आफूलाई ‘कू’ पात्रका रुपमा चित्रित गरेको बताएका हुन् ।
उनले भने, ‘उहाँ कू पात्र भइसक्नुभयो, हामीले बनाइदिएको होइन । उहाँको आफ्नै कर्मले आफैँलाई सिध्याउनुभयो । अब केही महिना मात्रै हो ।’
अध्यक्ष प्रचण्डले ओलीलाई विदेशीका अगाडि लम्पसार परेर संसद विघटन गरेको भन्दै अब उनको हातमा केही बाँकी नरहेको बताए ।
नेकपाको ओली र प्रचण्ड–माधव समूह कानुनीरुपमा विभाजन हुन बाँकी रहे पनि प्रचण्ड–माधव निकट प्रेस संगठन नेपालले औपचारिक रुपमा आज ‘पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठन, नेपालको आह्वान, प्रतिगमनविरुद्ध सञ्चारकर्मीहरुको सामूहिक अभियान’ भन्ने मूल नाराका साथ आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको हो ।