१८ पुस ०७७, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले काम चलाउ सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई गोमन सर्पको संज्ञा दिँदै कम्युनिष्ट आन्दोलनलाई डसेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि उक्त कदमको विरोध गर्दै आइरहेको नेकपाका स्थायी समिति सदस्य शर्माले विराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
ओलीलाई विदेशीको इशारामा चलेको कठपुतलीको आरोप लगाउँदै नेता शर्माले भने, ‘खड्ग प्रसाद ओली विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिष्ट आन्दोलनलाई डसे ।’
असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाले आन्दोलनलाई थप सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले ओलीलाई लम्पसारवादी, कठपुतली साथै देशकै निरीह प्राणी रहेको आरोप समेत लगाए ।