१४ माघ ०७४, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
आइतबार अध्यक्ष ओली र अध्यक्ष दाहालबीच दाहाल निवास खुमलटारमा बिहान ११ बजेदेखि भेटवार्ता भएको हो । यससंगै दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा वार्ता हुने जनाइएको छ ।
वाम पार्टी एकीकरणका लागि बनेको कार्यदल र दोस्रो तहका नेताहरुमा नेतृत्वका विषयमा सहमति हुन नसकेपछि प्रचण्ड र ओली आफै निर्णायक वार्तामा बसेका हुन ।
आजको वार्तामा पार्टी एकीकरण र सरकार गठनका विषयमा निष्कर्ष निकालिने उच्च स्रोतले जानकारी दिएको छ । ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने माओवादीको ठम्याइ छ ।
यदि यसमा ओली सहमत नभए दुई वाम एकीकरणको विषय तत्कालका लागि रोकिने छ । माओवादीले सरकारमा एमालेलाई समर्थन गर्ने छ भने पार्टी एकीकरणका लागि छलफल जारी राख्ने र तत्काल एकीकरणको नगरिने उच्च स्रोतको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्नु पर्ने माओवादी नेताहरुको अडान छ ।
वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक दिउँसो ३ बजेपछि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ ।













