२१ साउन, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि बसेको दोस्रो मन्त्रिपरिषद बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि राजनीतिक दलको कोटाबाट सिफारिस भएका १४ जनाको राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको छ ।

‘प्रचण्ड’ सरकारले ओली नेतृत्वको सरकारले सिफारिस गरेका २२ राजदूत मध्ये राजनीतिक दलको कोटाबाट सिफारिस भएका १४ जनाको राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयका सहसचिवहरु मध्येबाट राजदूत सिफारिस भएकाहरुको सिफारिस फिर्ता लिइएको छैन् । फिर्ता हुनेमा माओवादी केन्द्रका पनि छन् ।
सिफारिस फिर्ता हुनेमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा.खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले, डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् ।
त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् ।
त्यस्तै निरन्जन थापा र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ । यी थापा र रायमाझी राप्रपा नेपालको कोटाबाट सिफारिस भएका हुन् ।
राप्रपाको कोटाबाट खगेन्द्र बस्न्यात र बिजय गच्छदारको पार्टीबाट शर्मिला पराजुली ढकालको नाम गत बैशाख ७ गतेको मन्त्रिपरिषद बैठकले बिभिन्न देशको राजदूतका लागि सिफारिस गरेको थियो ।
परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिस भएका ८ सहसचिवको सुनुवाई निरन्तर हुनेछ । परराष्ट्रको सहसचिवबाट राजदूतमा सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गावहादुर क्षेत्री र लोकवहाबहादुर थापा सिफारिस भएका थिए ।













