कतार । नेपाल लगायत विभिन्न मुलुकका राजदूतहरुले कतारी विदेश मन्त्रालयका अधिकारीसँग भेट गरेर कतारमा कार्यरत आ-आफ्नो देशका नागरिकको सुरक्षाका विषयमा चासो राखेका छन् ।
कतार सरकारले साउदी अरब लगायत विभिन्न मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडे पनि कतारमा कार्यरत आप्रपासी कामदारलाई कुनै अप्ठ्यारो नपर्ने बताएको छ ।
कतारस्थित नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारमा कार्यरत नेपाल र भारतलगायत देशका नागरिकहरुले आत्तिनु नपर्ने कतार सरकारले आश्वस्त गराएको जानकारी दिए ।
राजदूत कोइरालाले कतार सरकारले आफ्नो देशमा आवश्यक पर्ने खाद्यान्न लगायतका अति आवश्यकीय सामाग्रीहरुको आपूर्ति जलमार्ग र एयरलिफ्ट मार्फत बढाइसकेको जानकारी गराएको बताए ।
राजदूत कोइरालाले मंगलबार दूताबासमा नेपाली समुदायसँग यसबारे छलफल गरेका छन् ।
नेपाली समुदायका अगुुवाहरुसँगको भेटमा कोइरालाले कतार सरकारका प्रतिनिधिहरुसँग आफूले नेपालीहरुको समस्याबारे कुराकानी गरेको जानकारी दिए ।
यसबारे साउदीतिर रहेका नेपालीलाई साउदीस्थित नेपाली दूताबासले उद्धार गर्ने साथै कतारतर्फ अलपत्र परेकालाई कतार दूतावासले उद्धार गर्न पहल गर्ने कोइरालाले बताए ।
सोमबार मात्रै साउदी अरब लगायत ७ वटा देशहरुले कतारमाथिको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि खाडी मुलुकमा संकट देखा परेको छ ।