११ असार ०७४, कपिलवस्तु । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले निर्वाचन आचारसंहिता विपरीत कपिलवस्तुमा चुनावी अभियान चलाएको भन्दै नेकपा एमाले लगायतका विपक्षी दलले आपत्ति जनाएका छन् ।
गत बुधबारदेखि शनिबारसम्म कपिलवस्तुमा रहेका उनलाई कांग्रेस उम्मेदवारहरुको पक्षमा भोट मागेको आरोप लागेको छ ।
उनीहरुका अनुसार राजदूत उपाध्याय बुधबार र बिहीबार गोरुसिंगे र वाणगंगा नगरपालिका लगायतका क्षेत्रमा कांग्रेसको चुनाव प्रचारमा सहभागी भएका थिए ।
त्यस्तै बिहीबार कपिलवस्तु नगरपालिकामा कांग्रेसको मेयर उम्मेदवार किरण सिंह र उपमेयर उम्मेदवार लक्ष्मी गुप्ता सहभागितामा रहेको तौलिहवाको कार्यक्रममा सहभागी भएका थिए ।
उपाध्याय शनिबारै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गोरखपुर पुगेका छन् ।
एमाले, संघीय समाजवादी फोरम र माओवादीले राजदूत जस्तो व्यक्ति एउटा दलको चुनावी अभियानमा सहभागी भएर मतदाता प्रभावित पार्न खोज्नु आपत्तिजनक रहेको बताएकाे छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ बाट तीन पटक सांसद जितेका गृहजिल्ला कपिलवस्तु रहेका उपाध्याय २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।