२० मंसिर, कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ ।

वेव तस्बिर
निमित्त प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष भरतकुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी चोक हुँदै उत्तर भिच्छु चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम जिल्लाको शान्ति सुव्यवस्थामा खलबल हुनसक्ने अवस्था देखिएकाले निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताए ।
संविधान संशोधन प्रस्ताव दर्तापश्चात् कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा त्यसको विरोध र समर्थनमा निस्किएको जुलुस, सभा र पुत्ला दहन जस्ता विभिन्न कार्यक्रम भइरहेका छन् ।