कमरेड प्रचण्ड सत्ता र शासकप्रति जनविश्वास गुम्दैछ, पहलकदमी लिनुस् – सांसद सिम्खडा

२८ जेठ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले वर्तमान सत्ता र शासकप्रति जनविश्वास गुम्दै गइरहेको बताएका छन् ।

बागमती प्रदेश सांसद समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडाले देश निराशा र अन्यौलताको महाभुमरीमा फस्दै गइरहेको भन्दै बुधबार सामाजिक सञ्यजालमार्फत् यस्तो बताएका हुन् ।

जनयुद्धका सहिदहरूको बलिदान र बेपत्ता याेद्धाहरुकाे त्याग र समर्पणमाथि नै प्रश्नचिह्न उठेकाे भन्दै उनलेे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई पहलकदमी लिन सुझाएका हुन् ।

“अध्यक्ष कमरेड प्रचण्ड देश निराशा र अन्यौलताको महाभुमरीमा फस्दैछ; सत्ता र शासकप्रति जनविश्वास गुम्दैछ,” सांसद सिम्खडाले फेसबुकमा लेखेका छन्, “हामीले लडेको र गरेको बलिदानमा प्रश्न चिन्ह उठ्दैछ पहलकदमी लिनुस्; अन्यथा ढिला हुनेछ।”

देश र जनताकाे हित विपरीत रहेकाे एमसीसीलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको, आर्थिक वर्ष ०७७/७८ बजेटकाे अनुसूची १० मा एमसीसी सहयाेग लिने उल्लेख गरेकाे साथै बजेट विनियोजन विधेयकमाथि प्रतिनिधि सभा बैठकमा सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिएकाे जवाफप्रति असहमति जनाउँदै सांसद सिम्खडाले नेकपाका अध्यक्ष प्रचण्डलाई बलिदानमा प्रश्न चिन्ह उठ्न लागेकाले पहलकदमी लिन आग्रह गरेका हुन् ।