कम्युनिष्ट पार्टीको एकता भाँड्न देशी–विदेशी शक्ति योजनाबद्ध लागेका छन् – जयपुरी घर्ती

१९ कार्तिक ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जयपुरी घर्तीले कम्युनिष्ट पार्टीलाई सफल हुन नदिन देशी–विदेशी शक्ति क्रियाशील रहेको बताएकी छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकमा महासंघको फ्र्याक्सन इन्चार्ज समेत रहेकी नेतृ घर्तीले यस्तो बताएकी हुन् ।

संघीय संसदको शिक्षा, स्वास्थ्य समिति सभापति समेत रहेकी नेतृ घर्तीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘यतिबेला पार्टी एकता भाँड्ने तत्त्वहरू सल्बलाइरहेको छ । त्यस्तै ट्रेड युनियनको एकता नहोस् भन्ने तत्त्वहरू पनि अदृष्य रुपमा लागिरहेको छ । त्यसैले अन्टुफ–जिफन्टको मजबुत एकता गर्न आजैबाट लाग्नुस् ।’

जनयुद्धका शक्ति पूर्वमाओवादी र त्यससँग सम्बन्धित जनवर्गीय संगठन ट्रेड युनियन लगायत जबसहरूलाई विभिन्न कोणबाट आक्रमण हुनसक्ने तर्फ संकेत गर्दै ती पदाधिकारीले बलियो संगठन निर्माण गर्न नेतृ घर्तीले सुझाएको बताए ।

उनले भने, ‘जनयुद्धका शक्ति निमिट्यान्न पार्न र कम्युनिष्ट पार्टीको एकता भाँड्न एकताविरोधी, साम्राज्यवादी र प्रतिक्रियावादी योजनाबद्ध ढङ्गले लागेका छन् ।’

अन्टुफ–जिफन्टको एकता मंसिरभित्रै 

यसैगरी महासंघका कार्यबाहक अध्यक्ष जगत बहादुर सिम्खडाले मंसिरभित्रै अन्टुफ–जिफन्ट एकताको मुख्य कार्य सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको बताए ।

मंसिरको दोस्रो हप्तासम्म अन्टुफले एकतासम्बन्धी आन्तरिक तयारी पूरा गर्ने पनि उनले बताए ।

बैठकपछि सामुहिक तस्बिर खिचाउँदै फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीसहित अन्टुफ पदाधिकारीहरू

‘महासंघ केन्द्रीय कार्यालयको समन्वयमा सातै प्रदेशले प्रदेश र जिल्ला तहसम्म भेला, बैठक, प्र्रशिक्षणात्मक कार्यक्रम मंसिरको १५ गतेभित्र सञ्चालन गर्नेछ,’ कावा अध्यक्ष सिम्खडाले भनेका छन्, ‘देशैभरिका सदस्यहरूको सदस्यता फाराम समेत सोही मितिभित्र अध्यावधि गरिसक्ने छौं ।’

महासंघले सामाजिक सुरक्षा ऐन, श्रम ऐन, न्यूनतम वेतन कार्यान्वयनका लागि सातै प्रदेशमा दबाब ¥याली, विरोध जुलुश, व्यानरिङ्ग, पोस्टरिङ्ग, पम्प्लेटिङ्ग, प्लेकार्डसहितको प्रचारात्मक र क्रियात्मक संघर्षका कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको उनले जानकारी दिए ।

तपाइको मत