करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ

२४ साउन ०७७, मोरङ । जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट शनिबार सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएका टोलीले २ सय ६७ ग्राम २ सय २० मिलिग्राम सुनसहित बिराटनगर महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्तालाई पक्राउ गरेको हो ।

साईकलमा दुध बोकी हिँडिरहेका उनलाई शंका लागेपछि एपीएफ टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन फेला परको सशस्त्र प्रहरी नायव उपरीषक अजय छतकुलीले जानकारी दिए ।

एपीएफ टोलीले गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ ।

प्रदिप ९० बोतल लागूऔषधसहित पक्राउ

यस्तै एपीएफ टोलीले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ सुर्यामाईबाट शनिबार नै वीसीरेक्स नामक ९० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका ९ सिमेन्ट रोड बस्ने ३२ बर्षीय प्रदिप पाण्डे रहेका छन् ।

बा ५ प ४२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण मकवानपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका निज पाण्डेलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।