१४ असार ०७७, सुर्खेत । प्रदेश अस्पतालले दैनिक करिब ४ सय स्वाबको परीक्षण गर्दै आएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन बिग्रिएको छ ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९ं)को परीक्षणका लागि प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मेशिनको हार्डवेयरमै समस्या देखिएपछि मर्मतका लागि पहल गरिएको बताए ।
उनले मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लायर कम्पनीलाई पत्र काट्ने तयारी गरेको बताए ।
प्रयोगशालामा रहेका केही स्वाबहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी भइरहेको समेत उनले जानकारी दिए ।













