कर्मचारीको सरुवा गर्नु आचारसंहिता विपरित- निर्वाचन आयोग

७ मंसिर ०७४, काठमाडौं । निर्वाचन आयोगले सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीको काज सरुवा गरेको भन्दै २४ घण्टाभित्र सरुवाको सक्कल फाइल आयोगमा ल्याउन निर्देशन दिएको छ ।

आयोगले आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा मिति २०७४।०५।१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइसकेकाले सरकारको निर्णयमा  सहमति नदिएको हो ।

निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा निर्वाचन आचारसंहिता २०७२ मा स्पष्ट भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखेर पठाएको भन्दै आयोगले त्यसमा सहमति नदिने निर्णय गरेको जनाएको छ ।

गृह मन्त्रालयले काज सरुवा गरेका रा.प. द्वितीय श्रेणीका छजना कर्मचारीमध्ये तीनजना कर्मचारी नुवाकोट, भोजपुर र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी छन् ।

तपाइको मत