कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई परिचालित होईन स्वचालित हुन गृहमन्त्रीको निर्देशन

६ बैशाख ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृहमन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई परिचालित होईन स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा दोस्रो चौमासिक समीक्षा तथा गृहमन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री बादलले सो कुरा बताएका हुन् ।

गृहमन्त्री बादलले मन्त्रालयको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न निर्देशन दिँदै भने–‘केही दिन स्वफुर्त रुपमा कामका लागि परिचालित हुने फेरी निष्क्रिय हुने अहिलेको परिपाटी देखियो । अब परिचालित होईन सधै सक्रिय भएर आफै स्वचालित भइराख्नुस् ।’

गृहमन्त्री थापाले कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोही अनुसार काम गरे नगरेको आधारमा उसको मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्न लागिएको बताए ।

त्यस्तै, गृह अन्तर्गतका निकायको पुँजीगत खर्च कम भएको देखिएको भन्दै सो बढाउन आवश्यक गृहकार्य गर्न निर्देशन दिएका थिए ।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, प्रहरी किताबखानाको चालु आर्थिक वर्ष २०७४/७५को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरीएको थियो ।

तपाइको मत