३१ जेठ ०७४, काठमाडौं । विभिन्न राजनीतिक दल निकटका ट्रेड युनियन कर्मचारीहरुले समायोजन भएका कर्मचारी ३५ दिनभित्र तोकिएको कार्यालयमा हाजिर हुन नगए स्वतः बर्खास्त हुने व्यवस्थाको विरोध गरेका छन् ।
कर्मचारी समायोजन ऐनको विधेयकमा समायोजनमा गएका कर्मचारी ३५ दिनभित्र तोकिएको कार्यालयमा गएर हाजिर नभए उसलाई बर्खास्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी दल निकट कर्मचारी संगठनका अध्यक्षहरुले संयुक्त विज्ञप्ति निकालेर सरकारलाई आफ्ना माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यस्तै ती संगठनहरुले समायोजन ऐनको विधेयकबाट ‘ऐन जारी भएको १ बर्षसम्म पदपूर्ती नहुने’ भन्ने व्यवस्था पनि खारेज गर्न माग गरेका छन् ।
उनीहरुले कर्मचारी व्यवस्थापन र समायोजन विधेयक तयार गर्दा सरकारले दल निकटका ट्रेड युनियनहरुसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
ती संगठनहरुले संघीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा ट्रेड युनियन सम्वन्धी ब्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिन माग गरेका छन् ।