संगीतकर्मी एवम् कलाकारहरुद्वारा यातायात मजदुरलाई खाद्यान्न सामग्री हस्तान्तरण

२० जेठ ०७७, काठमाडौं । संगीतकर्मी एवम् कलाकारहरुको एक समूहले दैनिक गुजारा चलाउन समस्या परेका यातायात मजदुरहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

अखिल नेपाल यातायात मजदुर संघलाई ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री समाजसेवी संगीतकार सुनिल मास्के, संगीतकार सुनिल महर्जन, एरेन्जर प्रदिप श्रेष्ठको पहलमा संचारकर्मी तथा गीतकार नरेश भट्टराई, समाजसेवी यादव कुँवर गीतकार अर्जुन रत्न भिखारी, खलानको मान्छे “अशोक” गीतकार सुनिता बस्नेत, गायक विश्व नेपाली एरेन्जर तथा गितारवादक सन्जिव बराईलीको तर्फबाट हस्तान्तरण गरिएको हो ।

कलाकारहरुबाट राहतका रुपमा प्राप्त चामल, दाल, तेल, नुन र आटा लगायतका खाद्य सामग्री अखिल नेपाल यातायात मजदुर केन्द्रीय उपाध्यक्षद्वय दिपक केसी र सुन्दर केसीको अगुवाईमा ४४ जना यातायात मजदुरहरुलाई वितरण गरिएको छ ।

बन्दाबन्दीबाट दैनिक गुजारा चलाउन धौधौ भएका मजदुरहरुलाई यसअघि पनि १ लाख बराबरको खाद्यन्न राहत उपलब्ध गराएका कलाकारहरुले यातायात क्षेत्रका मजदुरहरुलाई दोस्रोपटक राहतस्वरुप ५५ हजार बराबरको खाद्य सामग्री प्राप्त भएको उपाध्यक्ष दिपक केसीले जानकारी दिए ।

लामो बन्दाबन्दीले रोजगारबिहीन भई भोकभोकै बस्ने अवस्था पुगेका यातायात मजदुरहरुलाई कलाकर्मीको सहयोगमा राहत वितरण गरिएको भन्दै उपाध्यक्ष केसीले भने, “मजदुरहरुको दैनिकीप्रति राज्य बेखबर जस्तै छ तर कोरोना कहरमा मजदुरको गुजारा चलाउन सहयोग गर्ने समाजसेवीहरुप्रति अखिल नेपाल यातायात मजदुर संघ हार्दिक आभार व्यक्त गर्दछ ।”