२२ फागुन, ललितपुर । २०५२ साल फागुन १ गते जनयुद्ध थालनी गर्दा नेकपा माओवादीको १९ सदस्यीय केन्द्रीय समिति थियो । तत्कालिन केन्द्रीय समितिका १९ सदस्य आज को कता लागेछन् ? यसै विषयमा हाकाहाकी प्रतिनिधिले तयार पारेको एक रिर्पोट:
एकीकृत नेकपा माओवादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच सदस्य क्रियाशील रहेका छन् । जसमा टोपबहादुर रायमाझी ‘अनिल’, लोकेन्द्र बिष्टमगर ‘अभ्यास’, अग्निप्रसाद सापकोटा ‘कञ्चन’ र हरिबोल गजुरेल ‘शीतलकुमार’ छन् ।
यसैगरी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा अध्यक्ष ‘किरण’सहित, रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल ‘गौरव’, देव गुरुङ ‘कान्छाबहादुर’, पम्फा भुसाल ‘विद्युत’, हरिभक्त कँडेल ‘प्रतीक’, दिनेश शर्मा ‘सागर’ र नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ गरी ८ सदस्य रहेका छन् ।
त्यस्तै मातृका प्रसाद यादवले नेकपा (माओवादी)लाई पुनर्गठन गरी सो पार्टीको नेतृत्व गरिरहेका छन् भने डा. बाबुराम भट्टराई चाहिँ नयाँ शक्ति निमार्ण अभियानमा लागेका छन् ।
एमाओवादीमा रहेका पोष्टबहादुर बोगटी ‘दिवाकर’को मृत्यु भइसकेको छ । भने, जनयुद्ध सुरु गर्ने १९ जना मध्येका एक ‘आलोक’ पार्टी हेडक्वार्टरमाथि षड्यन्त्र गरेको आरोपमा पाटी कारबाही भोगिरहेकै बेला २०५९ सालमा सेनाको कारबाहीमा मारिए ।
यसैगरी दण्डपाणि न्यौपाने ‘दीपेन्द्र शर्मा’ २०५६ सालमा काठमाडौंको कलंकीबाट पक्राउ परेसँगै राज्यबाट बेपत्ता पारिए । न्यौपाने बेपत्ता पारिनेमा उपल्लो स्तरको पहिलो नेता हुन् । साथै, फणिन्द्रप्रसाद आचार्य ‘अनल’ जनयुद्ध सुरु भएको केही दिनमै माओवादीबाट पलायन भई चितवनको भरतपुरमा पसल थापेर बसे । शान्तिप्रक्रिया सुरु भएपछि माओवादीको सम्पर्कमा आएका आचार्य हिजोआज घरमै छन् ।