१८ कार्तिक ०७४, भरतपुर । नेपाली काँग्रेसका युवा नेता नारायण पौडेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
भरतपुर १४ शिबनगरमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस नेता पौडेलसहित गुमान बहादुर खड्का, लालबहादुर घिसिङ लगायतका ८९ जना कार्यकर्ता बाम गठबन्धनमा सहभागी भएका छन् ।
बुवाले रुखमा भोट हालेको देखेर आफू कांग्रेस भएको भन्दै नेता पौडेलले माओवादी केन्द्रमा प्रवेश गरेसँगै कार्यक्रममा बोल्दै चितवनको विकासका लागि आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
‘सानैदेखि बुवाले रुखमा भोट हाल्नुहुन्थ्यो, मैले त्यो देखें, बुवाले रुखमा भोट हालेको देखेर म कांग्रेस भएँ’ नेता पौडेलले भने, ‘काँग्रेसले केही पनि सिकाएन, रुखमा भोट हाल्न मात्र सिकायो । आज मेरो आँखा खुलेको छ, देशको विकास, समृद्धि र जनताको हितका लागि लड्ने बाम शक्तिमा आएको छु ।’
चितवनका सबै काँग्रेस नेता कार्यकर्ता माओवादी बन्ने संकेत गर्दै पौडेलले कुनै पनि रुख सिधा नरहने बताए ।
‘अब कुनै पनि रुख सिधा रहने छैनन्, सबै ढल्ने छन्’ नेता पौडेलले भने, ‘कहिले सूर्य, कहिले हँसिया हथौडा र कहिले हलोमा भोट हाल्ने कांग्रेस अब चितवनमा रहँदैन । हामी प्रचण्डलाई यसरी जिताउने छौँ कि अर्काेपटक प्रचण्डसँग कोही पनि चुनाव लड्ने आँट नगरुन् ।’













