काँग्रेसले खड्काको निधनको शोकमा ७ दिनसम्म आधा झण्डा झुकाउने

१८ चैत्र ०७४, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पार्टीले ५ दिन औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको  बैठकले खड्काको  निधनको शोकमा ५ दिन औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।  बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति भएको ठहर गर्दै खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत्र २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिनेछ ।

शुक्रबार निधन भएको उनको पार्थिव शरीर शनिबार राति काठमाडौं ल्याइएको थियाे ।

सानेपास्थित निवासबाट आइतबार केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएकाे थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि सिधै पशुपति आर्यघाट लगिने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

 

 

तपाइको मत