काँग्रेस नेताले भने, प्रचण्ड मुलुक र जनताप्रति अति नै संवेदनशील र जिम्मेवार

एमाले परिवर्तनका सबै उपलब्धिहरु गुमाउने तरखरमा !

२८ मंसिर ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले नेकपा एमाले सबै उपलब्धिहरु गुमाउने तरखरमा रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री समेत रहेका कांग्रेसका नेता यादवले यस्तो बताएका हुन् ।

उनले परिवर्तनका एजेण्डालाई कार्यान्वयन गर्न माओवादी केन्द्रले अभिभावक ‘गार्जियन’को भूमिका निर्वाह गर्नु पर्ने समेत बताए ।

आफूहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न तयार रहेको भन्दै यादवले भने, ‘परिवर्तनका एजेण्डालाई कार्यान्वयन गर्न माओवादीले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ । माओवादी एमालेको पिछलग्गु हुनुहुँदैन, किनकी एमाले सबै उपलब्धिहरु गुमाउने तरखरमा छ ।’

प्रचण्ड मुलुक र जनताप्रति अति नै संवेदनशील र जिम्मेवार नेता

माओवादी केन्द्रका अध्यक्षको प्रशंसा गर्दै काँग्रेस नेता यादवले प्राप्त उपलब्धि रक्षाका लागि प्रचण्डलाई अभिभावकीय भूमिकामा आउनु पर्ने भन्दै केही समय खर्चिए ।

यादवले भने, ‘प्रचण्डजी सहनशील, अनुभवी, स्थिर, नआत्तिने, मुलुक र जनताप्रति अति नै संवेदनशील र जिम्मेवार नेता हुनुुहुन्छ, त्यसैले उहाँ गार्जियन बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ ।

प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, उपलब्धिहरु संस्थागत हुन्छन्, उहाँ आफैं प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो समर्थन रहन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अतिवादी कुरा गर्ने नेता भन्दै नेता यादवले सबैलाई मिलाएर लैजान सक्ने नेता प्रचण्ड रहेको बताए ।

यादवले थपे, ‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो । देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँले मात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’

तपाइको मत