२२ असोज ०७४, काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेर सिट भागबन्डामा सहमति जुटाउने प्रयास गर्दैछन् ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आवद्ध दल फोरम लोकतान्त्रिकले गठबन्धनसँग २० सिट मागेको छ ।
‘हामीले २० सिट भनेका छौं, हेरौं कतिमा सहमति हुन्छ’ फोरम लोकतान्त्रिक नेता रामजनम चौधरीले भने ।
यसैगरी कमल थापा नेतृत्वको राप्रपाले पनि लोकतान्त्रिक गठबन्धनमा आवद्ध हुन २० सिट माग गरेको बताइएको छ ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्याउने छन् ।
चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा कार्यदल बनाइएको थियो ।
कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् । राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरेसँगै गठबन्धनमा उनीहरुको बार्गेनिङ पावर बढेको छ ।
काँग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध दलहरुले आगामी चुनावमा आ-आफ्नै चुनाव चिन्हमा निर्वाचनमा भिड्दै छन् ।













