१८ भदौ ०७४, काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले काँग्रेस, माओवादी, राजपाहरु तराई मधेसका फुटकर व्यापारी भएको बताएका छन् ।
नेता भट्टराईले तराई मधेसमा एमाले होलसेल व्यापारीका रुपमा रहेको भन्दै एक अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा काँग्रेस, माओवादी, राजपाहरु तराई मधेसका फुटकर व्यापारी भएको बताएका हुन् ।
“कांग्रेसले राजमार्ग क्षेत्रमा माओवादीसँग र कोर मधेसमा राजपासँग तालमेलको तयारी गरिरहेको छ, एमाले आफैं रक्षात्मक रहेको अवस्थामा कांग्रेसले सबैसँग तालमेल गर्दा तपाईहरुलाई अप्ठेरो पर्दैन ?” भन्ने अनलाइनखबरकर्मीको प्रश्नको जवाफ दिँदै नेता भट्टराईले भनेका छन्, “पहिलो कुरा एमाले मधेसमा रक्षात्मक छैन । हामी मधेसमा एकदमै अफेन्सिभ छौं । तराई मधेसमा मुख्यगरी दुई विचार छन् । एउटा एमालेले लिएको विचार छ अरु सबै १०/ १५ पार्टीको एउटा विचार छ । एमाले तराई मधेसमा एउटा होलसेल व्यापारी हो । कांग्रेस, माओवादी, राजपाहरु भनेका फुटकर व्यापारी हुन् ।”
यही प्रश्नको जवाफमा एमाले नेता भट्टराईले भनेका छन्, ‘मधेशमा खासगरी एमाले भर्सेस अरु सबै दलको विचारको लडाई हुँदैछ । एमालेको पक्षमा मधेसको आधा हिस्सा छ भने बाँकी आधा हिस्सा अरु सबै दलले बाँड्ने हुन् ।’
“सबै दल मिलेर चुनाव लड्दा गणितमा त तपाईहरु पछि पर्नुहुन्छ नि ?” भन्ने अर्को प्रश्नमा नेता भट्टराईले ‘पहिलो र दोस्रो चरणमा पनि एमालेविरुद्ध कांग्रेस-माओवादी मिलेकै हो’ भन्दै एकाध ठाउँमा एमाले हराउन सफल भए पनि आमरुपमा कांग्रेस-माओवादी तालमेल सफल नभएको बताएका छन् ।
‘भरतपुरजस्ता केही ठाउँमा राज्यसत्ता र विदेशी शक्ति समेत लगाएर प्राविधिक रुपमा जबर्जस्ती जित निकाले पनि त्यो अर्थ छैन’ नेता भट्टराईले भने, ‘एमालेलाई जनताले साथ दिएका छन् । सधैंभरि भरतपुर जस्तो गराउन सकिन्छ भन्ने नसोचे हुन्छ ।