२३ जेठ ०७४, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
देउवा मंगलबारको व्यवस्थापिका संसद बैठकमा ३८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।
मुलुकको ४० औं तथा गणतान्त्रिक नेपालको नवौ प्रधानमन्त्री बनेका देउवा ‘प्रधानमन्त्री’ बनेको यो चौथोपटक हो ।
कहिले कहिले भए देउवा प्रधानमन्त्री ?
१.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन ) १८ महिना
२.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन साढे १४ महिना )
३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन) (८ महिना )
काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार साथै सांसद प्रेम बहादुर सिंह लगायतले समर्थन गरेका थिए ।
देउवाको बायोडाटा यस्तो छ :
२०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित, २००४ साल डडेलधुरामा जन्मिएका देउवाले विभिन्न समयमा राजनैतिक संघर्षका क्रममा नौ वर्ष जेलजिवन बिताएका छन् ।
प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलन पछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी भए ।
४५ वर्षको उमेरमा गृहमन्त्री बनेको ५ बर्ष नवित्दै उनी प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन पुगेका थिए । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका देउवाले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि तीनपटक सम्म सरकार चलाएको अनुभव भएका देउवामाथि सरकारको नेतृत्व गर्दा असफल प्रधानमन्त्रीको आरोप समेत लागेको छ । साशनसत्ता राजालाई बुझाएको आरोप समेत खेपेका देउवाले अव मुलुकलाई कसरी अघि बढाउलान् भन्ने आम चासोको विषय बनेको छ ।