नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा गम्भिर समस्या भएपछि चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिहेको अस्पतालले जनाएको छ ।
कोइरालालाई हृदयाघातको आशंका गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको चिकित्सकले बताएका छन् । उनको फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए ।
कोइरालालाई ‘एसपिरेशन निमोनिया’ भएको चिकित्सकको टोलीले पुष्टि गरेको कांग्रेस नेता दिलेन्द्र बडुले जानकारी दिएका छन् ।
ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुन सक्ने जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि बान्ता भएको थियो । लगातार बान्ता भएपछि उनलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।