कांग्रेसको बैठकमा गठबन्धन गरेर चुनावमा जान नहुने विषय उठ्यो !

२७ असार ०७९, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पाँचदलीय गठबन्धन कायम गरेर संघीय र प्रदेशको चुनावमा जान नहुने विषय उठेको छ ।

सोमबार सुरुभएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गुरु बराल, सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले संघीय र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने बताएका हुन् ।

कांग्रेसभित्रै शेखर कोइराला समूहले गठबन्धन गरेर निर्वाचनमा जान नहुने मत राखिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा पक्षकै नेताहरुले पनि गठबन्धन गर्न नहुने मत राखेका छन् ।

काँग्रैसले सातै प्रदेशका सभापतिहरुलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाई बसेको बैठकमा सुदूरपश्चिमका सभापति बलायरले पश्चिममा कांग्रेस चुनाव एक्लै लड्न तयार रहेको बताएका थिए ।

बैठकमा आफ्नो धारणा राख्नेक्रममा डा. शेखर कोइरालाले कांग्रेसका नेता कार्यकर्ताको वर्तमान गठबन्धनप्रति सकारात्मक नरहेको बताएका थिए ।