कांग्रेसको संसदीय दलको नेता चयन गर्न भोलि चुनाव हुँदै

५ पुस ०७९, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुँदैछ ।

संसदीय दलको नेता बन्न काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

कांग्रेस संसदीय दलको चुनाव जित्ने सांसद भावी प्रधानमन्त्रीको उम्मेदवार समेत भएकाले निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

जन्मदै गुट लिएर आएको कांग्रेसभित्र संस्थापक नेता बीपी कोइराला, स्वयंले पार्टीभित्र चुनौतीको सामना गर्नुपरेको थियो । २०१७ सालमा सम्पन्न सातौं महाधिवेशनमा बीपीसँग डा.भूदेव राईले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए ।

गत वर्षको मंसिरमा सम्पन्न काँग्रेसको १४औं महाधिवेशनबाट दोस्रो पटक सभापति बन्दा शेरबहादुर देउवाले चुनावकै सामना गर्नुपरेको थियो ।

काँग्रेस नेताहरुका अनुसार भोलि हुनेसंसदीय दलको निर्वाचनमा ८९ सांसदमध्ये गगन थापाको पक्षमा ३२ जना रहेका छन् भने देउवाको पक्षमा ५७ जना रहेका छन् । तर, दलको नेता चुनिन ४५ सांसद आवश्यक पर्छ ।