१० भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसबाट छानिएका १३ मन्त्रीको सपथ ग्रहण आज विहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा गराउने कार्यक्रम तय भएको छ ।
सपथ ग्रहण गर्ने १३ नयाँ मन्त्रीहरुमा प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति) छन् ।
त्यसैगरी रोमी गौचन थकालीले वाणिज्यमन्त्री, हृदयराम थानी सहकारी मन्त्री, जीवनबहादुर शाही पर्यटन तथा संस्कृति मन्त्री बन्दैछन् भने गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिँदैछ ।
प्रचण्डको नेतृत्वमा सरकारमा कुल १५ मन्त्रालय पाएको नेपाली कांग्रेसको देउवा समूहले ८ वटा मन्त्रालय पाएको छ । रामचन्द्र पौडेल समूहले ५ वटा मन्त्रालय, खुमबहादुर खड्का समूहले वन मन्त्रालय पाएको छ भने कृष्ण सिटौला समूहले स्वास्थ्य मन्त्रालय पाएका छन् ।
कांग्रेसभित्र रहेको देउवा समूह, पौडेल समूह, खड्का समूह र सिटौला समूहको आन्तरिक विवादका कारण मन्त्रीको नाम दिन ढीलो भएको हो ।