१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ वटा विभाग टुंगो लगाएको छ ।
सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समिति गठन र बिभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
कांग्रेसको विधानको धारा २९ र ३० मा कार्य सम्पादन समितिको व्यवस्था छ । जसमा केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले काम गर्ने उल्लेख छ ।
पार्टी सभापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन हुन्छ । जसमा उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहने व्यवस्था छ । साथै संसदीय दलको नेता पनि समितिको सदस्य रहन्छन् ।
नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पनि कार्य सम्पादन समिति गठन हुन सकेको थिएन । यसैगरी बिधानअनुसार ६ महिनाभित्र चयन हुनुपर्ने उपसभापति, एकजना महामन्त्री र दुई जना सहमहामन्त्री मनोनित गर्न पनि सभापति शेरबहादुर देउवाले सकेका छैनन् ।