९ फागुन ०७४, काठमाडौं । कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको संयुक्त बैठक शनिबार बिहान बोलाएको छ ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् ।
महामन्त्री कोइरालाले निर्वाचनबाट पार्टी हारेको अवस्थामा सभापति देउवा दलको नेताका लागि नैतिक रूपमा पनि अग्रसर हुन नहुने बताए ।
२०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गरे । उनले सर्वसम्मत भए आफू हुने, नत्र पूर्वमहामन्त्री सिंहलाई सघाउने स्पष्ट पारे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । त्यसमा देउवाको बहुमत छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कार्यसम्पादन समितिको नभई संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । तर, देउवाले सुरुमा बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए ।
अहिले केन्द्रीय समिति नबोलाई संसदीय दलको मात्र बैठक बोलाएका छन् । निर्वाचन परिणामबारे केन्द्रीय समितिमा छलफल गर्ने गरी राष्ट्रिय सभाको निर्वाचन सकिएपछि बैठक बोलाउने देउवाले यसअघि बताएका थिए ।