कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

२६ जेठ ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।

सरकारले बन्दाबन्दी गर्ने बाहेक कुनै काम गर्न नसकेको ठहर गर्दै बैठकले कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ भने कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड–१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि भनेको छ ।

वर्तमान सरकारले कोरोना रोक्न पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसकेको, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार गरेको साथै कोरोना संक्रमितका लागि क्वारेन्टिन, आइसोलेसन व्यवस्थित नगरेको, परीक्षण किटको अभाव नै रहेको भन्दै बैठकले सरकारको कडा आलोचना समेत गरेको छ ।