कांग्रेससँग एकता वा चुनावी तालमेल गर्न फोरम लोकतान्त्रिकको कसरत

२६ असोज ०७४, काठमाडौं । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग पार्टी एकता वा चुनावी तालमेल गर्न अध्यक्ष विजय गच्छदारलाई सल्लाह दिएपछि उनले कांग्रेससँग छलफल थालेका छन् ।

अध्यक्ष गच्छदारले मंगलबार र बुधबार कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी तालमेल गर्ने भन्ने दुई विकल्पमा पार्टीका नेताहरू आन्तरिक छलफल गरेका हुन् ।

यसैगरी उनले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि वार्ता गरेका छन् । यसबारे गच्छदारले बुधबार देउवासँग टेलिफोनमा कुरा गरेका थिए भने मंगलबार प्रधानमन्त्री निवासमै गएर देउवासँग छलफल गरेका थिए ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले चुनावअघि कांग्रेससँग एकीकरण गर्न आफूले अध्यक्षलाई सल्लाह दिएको बताए ।

‘अध्यक्षज्यूले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी गठबन्धन गर्ने भन्नेबारे हामीसँग सल्लाह माग्नुभएको थियो,’ चौधरीले भने, ‘मैले चुनावअघि नै पार्टी एकीकरण गर्न गरौं, त्यो सम्भव नभए एउटै चिह्नमा चुनाव लडौं भनी सुझाव दिएँ ।’

प्रमुख सचेतक योगेन्द्र चौधरीले पार्टी एकीकरण वा तालमेल के गर्ने भन्नेबारे पार्टीले शुक्रबारसम्म एउटा निर्णय गर्ने बताए ।

तपाइको मत