कांग्रेस नेता पौडेल समूहको विरोध पत्रमा सिटौला समूहको विरोध !

११ असोज ०७७, काठमाडौं । विभिन्न नाम र समूहका राजनीतिक दलभित्र देखिएको गुट, उपगुट जस्तै काँग्रेसमा पनि गुटको विवाद सतहमा देखिएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन तयार पारेको विरोध पत्रमा अर्का नेता कृष्ण सिटौलाको समूहले हस्ताक्षर नगर्ने भएसँगै कांग्रेसको गुट विवाद सतहमा देखिएको हो ।

पौडेल समूहले विभागहरु गठन, भ्रातृ संगठन लगायतका विषयलाई लिएर तयार पारेको विरोध पत्रमा पार्टीका महामन्त्री शशांक कोइराला, कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेता पनि सिटौला समूहले हस्ताक्षर नगर्ने भएको छ ।

विरोधपत्रमा सिटौला समूहलाई हस्ताक्षर गराउने प्रयासस्वरुप पौडेलले आइतबार बिहान आफ्नै निवासमा भएको भेटमा सिटौलालाई विरोधपत्रमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, सिटौलाले उनको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

पार्टीको आन्तरिक विषयलाई बाहिर लैजानुभन्दा मुद्दाका आधारमा समर्थन र विरोध गर्नुपर्ने भन्दै कांग्रेस नेता सिटौलाले पौडेललाई आफ्नो धाराणा केन्द्रीय समिति बैठकमा राख्ने बताएका थिए ।

‘पार्टीको आन्तरिक विषयलाई बाहिर छताछुल्ल पार्नुभन्दा मुद्दाका आधारमा समर्थन र विरोध गर्नु उचित हुने सुझाएको छु,’ सिटौलाले भने, ‘छलफलका क्रममा उहाँले विरोध पत्रमा हस्ताक्षर गर्न आग्रह गर्नुभएको थियो ।’