२७ मंसिर ०७७, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समिति सदस्य कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् ।
शनिबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले पार्टी कार्यालय धुम्बाराहीमा दोस्रो संविधानसभामा कांग्रेसबाट सभासद रहेकी साहलाई दोसल्ला ओढाएर पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा साहसँगै १०९ जना नेकपामा प्रवेश गरेका छन् । साथै, पार्टी प्रवेश अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने पनि बताए ।
यसैगरी अध्यक्ष प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टी कै काँधमा भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरु अगाडि बढेको बताएका थिए ।
“हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल समाजवादतिरको यात्राका लागि हुन्,” पार्टीको अन्तरविरोधतर्फ संकेत गर्दै प्रचण्डले भने, “समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”
उनले अगाडि भने, “यो बेला पक्कै पनि चुनौतिहरु आउँछन् । ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ । कम्युनिष्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं ।”
कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए ।
नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टीभित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताउँदै पार्टी प्रवेशसँगै नेतृ शाहले देशमा जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको बताइन् ।